काठमाडौँ — बंगलादेशको मैमनसिंह जिल्लाको भालुका क्षेत्रमा धार्मिक अपमानको आरोपमा उत्तेजित भीडले एक युवकको निर्मम हत्या गरेको छ। घटना बिहीबार राति भालुकाको दुबालिया पाडा क्षेत्रमा भएको हो।
भालुका प्रहरी स्टेशनका ड्युटी अफिसर रिपन मियाका अनुसार दीपु चन्द्र दास नामका युवकलाई भीडले नियन्त्रणमा लिएर सामूहिक कुटपिट गरी हत्या गरेको हो। हत्या पश्चात् पनि भीडले अमानवीय व्यवहार जारी राख्दै मृतकको शवलाई रुखमा बाँधेर आगो लगाएको प्रहरीले जनाएको छ। दीपु स्थानीय कपडा कारखानामा कार्यरत थिए।
घटनाप्रति बंगलादेश सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले कडा निन्दा व्यक्त गरेका छन्। उनले नयाँ बंगलादेशमा यस्ता हिंसात्मक गतिविधिको कुनै स्थान नभएको उल्लेख गर्दै दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

















