काठमाडौँ — मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा नयाँ राजनीतिक दल “राष्ट्र निर्माण दल” को औपचारिक घोषणा गरिएको छ। शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममार्फत दल सार्वजनिक गरिएको हो।
दल घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक सोच, विचार र उद्देश्यका साथ अघि बढ्ने बताउनुभयो। उहाँका अनुसार दलको मुख्य लक्ष्य जनताको हित संरक्षण गर्दै राष्ट्र निर्माणको अभियानमा केन्द्रित रहनु हो।
अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल कुनै व्यक्तिगत स्वार्थ, पद वा फाइदाका लागि गठन नगरिएको स्पष्ट पार्नुभयो। उहाँले देशका सबै भूगोल, जातजाति, धर्म र समुदायलाई समेट्ने समावेशी राजनीतिक शक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। दल सबै नेपालीको साझा आवाज बन्ने लक्ष्यसहित अघि बढ्ने उहाँको भनाइ छ।

कार्यक्रममा पार्टीको प्रस्तावित निर्वाचन चिन्ह “पानीको बोतल” रहेको जानकारी गराइएको थियो। साथै, छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहयोगमार्फत देशको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
राजनीतिमा वैकल्पिक र सकारात्मक शक्तिको रूपमा राष्ट्र निर्माण दल उदाउने विश्वास व्यक्त गर्दै अध्यक्ष अन्सारीले जनताको भरोसा र साथले मात्र देशलाई सही दिशातर्फ अघि बढाउन सकिने बताउनुभयो।

















