राजविराज — वर्षौंदेखि अलपत्र अवस्थामा रहेको राजविराज बसपार्क सञ्चालनको विषय अब कार्यान्वयनतर्फ अघि बढेको छ। बसपार्क सञ्चालनका लागि पटक–पटक सदनमा आवाज उठाउँदै आउनुभएकी सांसद डा. अंकिता ठाकुरको निरन्तर पहलपछि यस विषयले नयाँ गति पाएको देखिएको छ।
राजविराजको महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बसपार्क सञ्चालनका लागि सांसद ठाकुरले सरकार तथा सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदै आउनुभएको थियो। लामो समयदेखि सञ्चालनमा आउन नसकेको बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन उहाँले सदनमार्फत समेत आवाज उठाउँदै आउनुभएको बताइएको छ।
पछिल्लो समय बसपार्क सञ्चालनको प्रक्रिया अघि बढाउने तयारी भएपछि स्थानीयवासीमा समेत आशा बढेको छ। राजविराज नगरपालिकाले बसपार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि अघि बढाएको छ भने बोलपत्रसम्बन्धी प्रक्रिया पनि अगाडि बढेको नगरपालिकाको आधिकारिक विवरणमा उल्लेख छ।
नगरपालिकाले सञ्चालनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाएसँगै अब आगामी सातादेखि बसपार्क सञ्चालनको प्रक्रिया थप अगाडि बढ्ने तयारी गरिएको छ। यससँगै वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको बसपार्कको संरचना प्रयोगमा आउने अपेक्षा गरिएको छ।
बसपार्क सञ्चालनमा आएपछि राजविराजको यातायात व्यवस्थापन थप व्यवस्थित हुने तथा यात्रु र यातायात व्यवसायीलाई समेत सहज हुने अपेक्षा गरिएको छ। लामो समयदेखि अलपत्र रहेको महत्वपूर्ण पूर्वाधार सञ्चालनमा आउने तयारीले स्थानीयस्तरमा पनि सकारात्मक प्रतिक्रिया देखिएको छ।
सप्तरीको विकास तथा पूर्वाधारका सवालमा सदनदेखि सम्बन्धित निकायसम्म निरन्तर आवाज उठाउँदै आउनुभएकी सांसद डा. अंकिता ठाकुरको पहलपछि राजविराज बसपार्क सञ्चालनको विषयले गति लिएको हो। अब सम्बन्धित निकायले अघि बढाएको प्रक्रिया समयमै पूरा गरी बसपार्क सञ्चालनमा ल्याउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ।

















