सप्तरी — राजविराजमा “नेपाल मुस्लिम समाज सेवा” को पहलमा सुरु गरिएको निःशुल्क जाडो कपडा वितरण अभियान आज दोस्रो दिन पनि निरन्तर रूपमा सञ्चालन भइरहेको छ। जाडो मौसमलाई लक्षित गर्दै सुरु गरिएको यस अभियानअन्तर्गत प्रयोग भइसकेका तर सफा, धोइएका र प्रयोगयोग्य कपडाहरू संकलन तथा वितरण गरिँदै आएको छ।

संस्थाका कोषाध्यक्ष मो. नौसादका अनुसार आवश्यक परेका व्यक्तिले निःसंकोच कपडा लिन सक्नेछन् भने पर्याप्त भएका व्यक्तिलाई अरूको चिसो रात बचाउन कपडा छोडिदिन आग्रह गरिएको छ। “हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्” भन्ने भावनासहित सञ्चालन भइरहेको यस ‘क्लोथ्स बैंक’ अभियानले समुदायमा आपसी सहयोग र मानवीय संवेदनाको सन्देश फैलाइरहेको छ।

दुई दिनको अवधिमै करिब ४,५०० थान जाडो कपडा वितरण भइसकेको संस्थाले जनाएको छ। जाडो बढ्दै गइरहेका बेला गरिब, असहाय र विपन्न वर्गका लागि यो अभियान ठूलो राहत बन्ने अपेक्षा गरिएको छ।

यस अभियानमा अनश खानले सबैलाई न्यानो कपडा दान गरी यस मानवीय कार्यमा सहभागी हुन आह्वान गरेका छन्। साथै, अभियान सफल बनाउन सहयोग पुर्याउने राजविराजका रेडिमेड पसल सञ्चालकहरूप्रति “नेपाल मुस्लिम समाज सेवा” ले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
उक्त वितरण स्थल राजविराजको मैन रोडस्थित न्यू खान अटोमोबाइल इलेक्ट्रोनिकको अगाडि रहेको छ, जहाँ आज दोस्रो दिन पनि सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ।


















