काठमाडौं । नेपाल आयल निगमले आज (साउन ३०) देखि देशभर १४.२ केजी क्षमताको पूर्ण एलपी ग्यास सिलिन्डर पुनः बिक्री–वितरण सुरु गरेको जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङको अवस्था सुधार भएसँगै पूर्ण क्षमताको ग्यास सिलिन्डर पुनः बिक्री गर्ने निर्णय गरिएको हो।

यसअघि ग्यास आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै निगमले गत मंसिर २१ गतेदेखि अस्थायी रूपमा ७.१ केजी ग्यास भरेर आधा सिलिन्डर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो। आपूर्ति प्रणाली क्रमशः सहज बन्दै गएपछि उक्त व्यवस्था हटाउँदै पुनः १४.२ केजी क्षमताको पूर्ण सिलिन्डर बिक्री सुरु गरिएको निगमले जनाएको छ।

निगमका अनुसार अब उपभोक्ताले प्रतिसिलिन्डर २,०६० रुपैयाँ तिरेर १४.२ केजीको पूर्ण ग्यास सिलिन्डर प्राप्त गर्न सक्नेछन्। केही समयसम्म बजारमा ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर देखिन सक्ने भएकाले खरिद गर्दा तौल र मूल्य यकिन गर्न पनि निगमले उपभोक्तालाई आग्रह गरेको छ।

FB_IMG_1784087893156

निगमले हाल इन्डियन आयल कर्पोरेसनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेको जानकारी दिँदै बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। साथै आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न उपभोक्तासँग आग्रह गरेको छ।