पर्सा । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२ सिसियाडिहमा जग्गा विवादका कारण दलित समुदायका भागरित पासवानको घरमा आगजनी तथा लुटपाट भएको छ। घटनामा करिब १६ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ।
आगजनीबाट धान, गहुँ, नगद रकम, सुनका गहना, कपडा, भाँडाकुँडा तथा घरका संरचना जलेर नष्ट भएका छन्। पीडितका अनुसार ३ लाख बराबरको सुनका गहना र १ लाख ५० हजार नगदसमेत लुटपाट गरिएको छ।
पीडित परिवारले बाटोको विषयमा भएको जग्गा विवादकै कारण घटना भएको दाबी गरेको छ। विपक्षीहरूले आफ्नो नम्बरी जग्गाबाट बाटो दिन दबाब दिँदै आएका थिए। विवादकै क्रममा पीडितलाई दलित भन्दै गालीगलौज र धम्की दिइएको आरोप छ।
पीडितका छोरा कविरा पासवानले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउँदै दोषीहरूविरुद्ध कडा कारबाहीको माग गरेका छन्।
अन्तर्राष्ट्रिय पासवान समाज एकता नेपालका राष्ट्रिय अध्यक्ष सुनिल पासवानले घटनाको निन्दा गर्दै पीडितलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन्।

















