सप्तरी — राजविराजमा “नेपाल मुस्लिम समाज सेवा” को पहलमा जाडो मौसमलाई लक्षित गर्दै निःशुल्क जाडो कपडा वितरण अभियान सुरु गरिएको छ। अभियान अन्तर्गत प्रयोग भइसकेका तर राम्ररी धोइएका, सफा र प्रयोगयोग्य कपडाहरू संकलन तथा वितरण गरिँदै आएको छ।

संस्थाका कोषाध्यक्ष मो. नौसाद अनुसार आवश्यक परेका व्यक्तिले निःसंकोच कपडा लिन सक्नेछन् भने पर्याप्त भएका व्यक्तिलाई अरूको चिसो रात बचाउन कपडा छोडिदिन आग्रह गरिएको छ। “हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्” भन्ने भावनासहित सञ्चालन भइरहेको यस ‘क्लोथ्स बैंक’ अभियानले समुदायमा आपसी सहयोग र मानवीय संवेदनाको सन्देश फैलाइरहेको छ।

जाडो बढ्दै गइरहेका बेला गरिब, असहाय र विपन्न वर्गका लागि यो अभियान ठूलो राहत बन्ने अपेक्षा गरिएको छ। यस अभियानमा अनश खान सबैलाई न्यानो कपडा दान गरी यस मानवीय अभियानमा सहभागी हुन आह्वान गरेका छन् उक्त वितरण स्थल राजविराजको मैन रोड स्थित न्यू खान अटोमोबाइल इलेक्ट्रोनिकको आगाडि रहेको छ।

















