काठमाडौँ  - दशवर्षे जनयुद्धमा छापामार योद्धाका रूपमा सक्रिय रहेकी सकिना मुस्लिम ‘रविना’ खान प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस भएकी छन्। नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनमा समानुपातिकतर्फ मुस्लिम कोटामा उनलाई पहिलो नम्बरमा सिफारिस गरेको हो।

कपिलवस्तुमा जन्मिएकी रविना कलिलो उमेरमै जनवादी राजनीतिमा संलग्न भएकी थिइन्। जनयुद्धका क्रममा उनले गोरखा, पोखरा, सिन्धुली, चितवनलगायत विभिन्न जिल्लामा संगठन तथा सैन्य मोर्चामा भूमिका निर्वाह गरेको पार्टी स्रोतले जनाएको छ। उनी देशकै पहिलो मुस्लिम महिला छापामार योद्धामध्ये एकका रूपमा चिनिन्छिन्।

करिब २५ वर्षदेखि राजनीतिमा सक्रिय रविना संगठन निर्माण, सामाजिक अभियान र महिला तथा अल्पसंख्यक अधिकारका सवालमा क्रियाशील रहँदै आएकी छन्। पार्टीले उनको योगदान, संघर्ष र निरन्तर सक्रियतालाई मूल्याङ्कन गर्दै उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।

राजनीतिक विश्लेषकहरूले अल्पसंख्यक मुस्लिम समुदायबाट आएको महिला नेतृलाई संसद्‌मा पुर्‍याउने प्रयासलाई समावेशी लोकतन्त्रको अभ्यासका रूपमा मूल्याङ्कन गरेका छन्। उनका समर्थकहरूले संसद्‌मा पुग्दा पछाडि पारिएका समुदायको आवाज अझ प्रभावकारी रूपमा उठ्ने विश्वास व्यक्त गरेका छन्।