राजविराज, साउन २ – सप्तरीको राजविराज कारागारमा शनिबार बिहान कैदीबन्दीबीचको आन्तरिक विवाद उग्र बनेपछि पाँच जना कैदीबन्दीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

कारागार प्रमुख रुपक मण्डलका अनुसार दुई–तीन दिनदेखि कैदीबन्दीबीच आन्तरिक विवाद चलिरहेको थियो। सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको उनले बताए। घटनापछि कारागार प्रशासन र सम्बन्धित पक्षबीच छलफल जारी रहेको तथा सहमतिनजिक पुगेको जानकारी उनले दिए। यद्यपि विवादको वास्तविक कारणबारे उनले खुलाउन चाहेनन्।

मण्डलका अनुसार घटनाको समयमा चिकित्सक टोली र एम्बुलेन्स तयारी अवस्थामा रहेकाले कुनै मानवीय क्षति हुन पाएन।

यता, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारलाई सामान्य कुटपिट गरिएको घटनापछि विवाद उत्पन्न भएको बताए। कैदीबन्दीलाई सम्झाइबुझाइ गरी अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार कैदीबन्दीहरूले आफूहरूसँग सम्मानजनक व्यवहार हुनुपर्ने माग राखेका थिए। प्रहरीभित्र जान खोज्ने क्रममा उनीहरूले आत्मदाहको प्रयास गरेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक आन्तरिक प्रक्रिया जारी रहेको प्रशासनले जनाएको छ।