राजविराज, पुस २ – करदाता सेवा कार्यालय राजविराजलाई गाभ्ने वा सार्ने सरकारी निर्णयको विरोधमा आन्दोलन चर्किँदै गएको छ। नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री उमेश कुमार यादवले उक्त कार्यालयलाई गाभ्ने होइन, आन्तरिक राजस्व कार्यालयकै रूपमा स्थापना गर्नुपर्ने बताएका छन्।


आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीद्वारा सञ्चालन गरिएको रिले अनशनको समर्थनमा पाँचौँ दिन अनशन बसेका यादवले सरकारले जनविरोधी तथा विभेदपूर्ण निर्णय गरिरहेको आरोप लगाए। उनले सप्तरीमा आन्तरिक राजस्व कार्यालय स्थापना गर्नु समयको माग भएको उल्लेख गरे।


यादवले भौतिक पूर्वाधार, करदाता संख्या र राजस्व संकलनका हिसाबले राजविराज सक्षम रहेको बताउँदै हालको करदाता सेवा कार्यालयलाई स्तरोन्नति गरी आन्तरिक राजस्व कार्यालयमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। एउटै जिल्लामा एकभन्दा बढी आन्तरिक राजस्व कार्यालय सञ्चालन भइरहेका उदाहरण प्रस्तुत गर्दै सप्तरीमा एउटा कार्यालय स्थापना गर्न नसकिने कारण के हो ? भन्ने प्रश्न उनले उठाए।


देशभर रहेका ३७ करदाता सेवा कार्यालयलाई एकैपटक गाभ्ने सरकारको निर्णय अव्यावहारिक रहेको भन्दै उनले माग सम्बोधन नभए आमरण अनशन र पूर्व–पश्चिम लोकमार्ग केन्द्रित आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए।


सरकारको निर्णयविरुद्ध सप्तरीका जनप्रतिनिधि, उद्योगी–व्यवसायी र नागरिक समाजको सहभागितामा गजेन्द्र चौकमा रिले अनशन पाँचौँ दिन पनि जारी छ। संघर्ष समितिका अनुसार शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।