सप्तरीको सप्तकोशी नगरपालिका–७ ओदाहामा ज्योति विकास बैंकका कर्मचारीमाथि बन्धक बनाएर कुटपिट तथा अमानवीय व्यवहार गरेको गम्भीर आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोशी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरीका श्रीमान् तथा सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालि का सेयरधनी ५२ वर्षीय सञ्जिवकुमार चौधरी र अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ निवासी ४७ वर्षीय उमाकान्त चौधरी रहेका छन्।


जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनीहरूलाई मंगलबार नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक बनाउने तथा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी डम्बर पुरीले जानकारी दिएका छन्।


यस घटनामा संलग्न भएको आरोप लागेका सप्तकोशी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरी, उनका छोरा सिरज चौधरी तथा फार्मका अन्य सेयरधनीहरू प्रभुनारायण चौधरी, पञ्चदेव चौधरी र रवीन्द्र स्वर्णकार भने फरार रहेका छन्। प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ।


घटना कसरी भयो ?


गत बुधबार ज्योति विकास बैंकको ऋण असुलीसम्बन्धी छलफलका लागि बैंकको प्रादेशिक कार्यालयका उपप्रबन्धक एवं कर्जा असुली प्रमुख सुमित श्रेष्ठ र रुपनी शाखाका कर्जा असुली अधिकृत सविन श्रेष्ठ सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म पुगेका थिए। छलफलका क्रममा फार्म सञ्चालक समूहले उनीहरूलाई जबर्जस्ती बन्धक बनाएको, शरीरमा मोसो दलेको, जुत्ताको माला लगाइदिएको र कुटपिट गरेको आरोप छ।


उक्त घटनाको भिडियो आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि देशभर तीव्र आलोचना भएको थियो। बैंक कर्मचारीमाथि गरिएको यस्तो दुर्व्यवहारले कानुनी शासनमाथि नै प्रश्न उठाएको भन्दै विभिन्न क्षेत्रबाट आपत्ति जनाइएको छ।


ऋण विवादको पृष्ठभूमि


प्रहरीका अनुसार सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालिले २०७८ वैशाख २३ गते ज्योति विकास बैंकबाट ४ करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो। लामो समयसम्म किस्ता नियमित रूपमा नतिरेपछि बैंकले २०८१ चैत २८ पछि धितो लिलामी प्रक्रिया अघि बढाएको थियो।


बैंकले मंसिर १९ गते सात दिने सार्वजनिक सूचना जारी गरेको र सो सूचना अवधि नसकिँदै टिकटकमार्फत धितो राखिएको जग्गा बिक्रीको विज्ञापन गरिएको भन्दै फार्म पक्ष आक्रोशित बनेको बताइएको छ। यही विषयलाई लिएर बैंक र फार्म सञ्चालकबीच विवाद चर्किँदै अन्ततः हिंसात्मक घटनामा परिणत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


अनुसन्धान जारी


प्रहरीले घटनालाई गम्भीर आपराधिक गतिविधिका रूपमा लिएर अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। फरार अभियुक्तहरूको खोजी, घटनामा संलग्न अन्य व्यक्तिको भूमिका तथा योजनाबद्ध रूपमा घटना घटाइएको हो कि होइन भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।