राजविराज, सप्तरी — नेपाल मुस्लिम समाज सेवा, राजविराज सप्तरीले आपसी सद्भाव कायम गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेस विज्ञप्ति दर्ता गराएको छ।
संस्थाले पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा धार्मिक द्वन्द्व बढाउने किसिमका पोस्टहरू भाइरल हुँदै गएकाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनको ध्यानाकर्षण गराएको हो।

विज्ञप्तिअनुसार यही मिति २०८२ साल पौष ११ गते राजविराजदेखि रुपनीसम्म जाने सडकखण्डमा मुस्लिम समुदायका एक महिला र एक पुरुष मोटरसाइकलमा यात्रा गरिरहेका बेला केही युवाहरूले रोकेर जबर्जस्ती “जय श्री राम” भन्न दबाब दिएका थिए। नमान्दा उनीहरूमाथि अभद्र व्यवहार तथा गालीगलौज गरिएको घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। तर, हालसम्म उक्त घटनामा कुनै कारबाही नभएकाले बाध्य भएर प्रशासनमा आउनुपरेको संस्थाको भनाइ छ।
नेपाल मुस्लिम समाज सेवाले नेपालको संविधान २०७२ को धारा २६ अनुसार प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्म अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता रहेको तथा धारा १८(२) ले धर्म, जात, वर्ण र समुदायका आधारमा भेदभाव गर्न नपाइने स्पष्ट संवैधानिक व्यवस्था रहेको स्मरण गराएको छ।
संस्थाले केही व्यक्ति तथा समूहद्वारा संविधानप्रदत्त अधिकारको खुला उल्लंघन गर्दै गैरकानुनी गतिविधि गरिएको आरोप लगाउँदै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न र भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालयसँग माग गरेको छ।

















