सप्तरीमा मदरसा ईक्रा लेतहफिजिल कुरआनद्वारा तेस्रो शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
राजविराज, सप्तरी — सप्तरी जिल्लाको राजविराज–१, रहमतपुरस्थित मदरसा ईक्रा लेतहफिजिल कुरआनले आफ्नो तेस्रो शैक्षिक तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीहरूद्वारा विभिन्न शैक्षिक प्रस्तुति, सांस्कृतिक गतिविधि तथा धार्मिक सन्देशमूलक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमको मुख्य आकर्षणका रूपमा हिफ्ज–ए–कुरआन पूरा गरेका ८ जना विद्यार्थीहरूको दस्तार बन्दी (सम्मान) समारोह आयोजना गरिएको थियो। उक्त समारोहमार्फत कुरआन पूर्ण रूपमा कण्ठस्थ गर्ने हाफिज विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको मेहनत, अनुशासन र लगनशीलताको उच्च प्रशंसा गरिएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले कुरआनी शिक्षाको महत्व, नैतिक मूल्यको विकास तथा समाज निर्माणमा धार्मिक शिक्षाको भूमिकाबारे प्रकाश पारे। मदरसाका जिम्मेवार पदाधिकारीहरूले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।
कार्यक्रमको अन्त्यमा आयोजक समितिले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।

















